vimarsana.com

Card image cap


विरासत उचाइमा पु-याउँदै त्रिवि
  
शेयर गर्नुहोस:
सुमन्त घिमिरे
त्रिभुवन विश्वविद्यालय मुलुककै सबैभन्दा जेठो विश्वविद्यालयमात्र नभएर, विद्यार्थी भर्नाका आधारमा विश्वकै १२औँ ठूलो विश्वविद्यालय पनि हो ।
यो हाम्रो विश्वविद्यालय सबै भौगोलिक खण्ड मेची–महाकाली, हिमाल–पहाड–तराईका उच्च–मध्यम–निम्न सबै वर्गको ज्ञान प्राप्त गर्ने थलोका रूपमा स्थापित छ । ६२औँ वर्षमा प्रवेश गर्दैगर्दा देशका ८५ प्रतिशत विद्यार्थीलाई विभिन्न तह र विधामा दीक्षित गर्दै आएको स्मरण गर्न जरुरी छ ।
यो विश्वविद्यालयको विशेषताबारे वर्णन गर्दै उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा भन्नुहुन्छ, ‘नेपालको भौगोलिक विविधतालाई समेट्न सफल त्रिवि विद्यार्र्थी तथा शैक्षिक कार्यक्रममा विविधता भएको शैक्षिक संस्था हो । यो एसियाका अग्रस्थानमा रहेका विश्वविद्यालयमध्ये एक हो ।’
उपकुलपतिका अनुसार त्रिभुवन विश्वविद्यालय देशको ७६ वटा जिल्लामा फैलिएको छ । तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको त्रिवि यस वर्ष एसियाली विश्व विद्यालयको श्रेणीमा १००औँ स्थानमा उक्लिन सफल भएको छ ।
विक्रम संवत् २०१५ मा शिलान्यास भएर २०१६ असार ११ गतेका दिन औपचारिक रूपमा सङ्गठित त्रिविले आफ्नो स्थापना दिवस भने शिलान्यास भएको दिनलाई मान्दै आएको छ ।
त्रिविको स्थापनापूर्व नेपालमा भारतको पट्ना विश्वविद्यालयको सम्बन्धनमा त्रि–चन्द्रलगायत अन्य कलेजको स्थापना र सञ्चालन भएको पाइन्छ । आफ्नो राष्ट्रमै आफ्नै विश्वविद्यालय होस् भन्ने चाहना राख्नु त्यसबखतका शासकको दूरदर्शिता
नै मान्नुपर्छ ।
ऐतिहासिक पृष्ठभूमि
त्रिभुवन विश्वविद्यालय स्थापनार्थ २०१२ मा त्रिवि कमिसनको स्थापना गरिएको थियो । अध्यक्ष र उपाध्यक्षमा तत्कालीन मुमा बडामहारानीहरू कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी क्रमशः हुनुहुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटासमेत सदस्यका रूपमा हुनुहुन्थ्यो । सो कमिसनले झन्डै साढे दुई वर्ष काम गरेपछि २०१५ असार शुक्ल नवमीका दिन बडामहारानीहरूबाट शिलान्यास भएको थियो । त्यसैले आजपर्यन्त त्रिवि दिवस असार शुक्ल नवमीका दिन मनाइन्छ । तिथि र गते फरक पर्ने भएकाले गत वर्ष असार १५ गते परेको दिवस यसपटक साउन ३ गते परेको छ ।
सङ्गठनात्मक संरचना
त्रिविमा देशका प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपतिमा रहने व्यवस्था छ । उपकुलपतिको नियुक्ति प्रधानमन्त्रीबाट हुन्छ । त्रिविका उपकुपति कार्यकारी प्रमुख हुन् । विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र अनुसन्धानात्मक कार्यक्रमको मुख्य जिम्मा शिक्षाध्यक्षको हुन्छ । आर्थिक प्रशासन र सामान्य प्रशासनको मुख्य जिम्मा रजिष्ट्रारको हुन्छ । यसरी तीन मुख्य पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारमातहतका विभिन्न परिषद्, संस्थान, सङ्काय, क्याम्पस र तिनका सञ्चालकका साथै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीको अन्तक्र्रियाबाट त्रिवि सञ्चालित छ ।
विश्वविद्यालय सभा
यो सर्वोच्च निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्नुहुन्छ । शिक्षाध्यक्ष यसमा सदस्य–सचिव रहनुहुन्छ । सहकुलपति, उपकुलपति, विभिन्न मन्त्रालयका सचिव, डीन, उद्योगपति, चन्दादाता (दुईजना), विद्यार्थी, पत्रकार आदि समाजका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसलाई सङ्गठित गरिएको हुन्छ । यसले त्रिविको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्छ । सामान्यतः वर्षको दुईपटक यसको बैठक बस्छ ।
प्राज्ञिक परिषद्
यो एक प्राज्ञिक निकायका रूपमा रहेको छ । यसको अध्यक्षता उपकुलपतिद्वारा गरिन्छ । डीनहरूमध्येबाट एकजनालाई उपकुलपतिबाट यसको सचिव भई काम गर्न मनोनीत गरिएको हुन्छ । मुख्यतः त्रिविले प्रदान गर्ने उपाधिको व्यवस्थाका साथै अध्ययन, अनुसन्धान र प्रशिक्षण हुने विषयको पाठ्यक्रम निर्धारण आदि जस्ता कार्य यसको क्षेत्राधिकारभित्र पर्छ ।
कार्यकारी परिषद्
यो त्रिविको प्रमुख कार्यकारी निकायका रूपमा रहेको छ । उपकुलपति अध्यक्ष रहने र रजिष्ट्रार सदस्य–सचिव रहने यो निकाय त्रिविको मुटुका रूपमा स्थापित छ । यसले त्रिविसभाका निर्णय कार्यान्वयन गराउने जिम्मेवारी पनि पाएको छ ।
सेवा आयोग
त्रिविका शिक्षक तथा कर्मचारीको नियुक्ति र बढुवाको व्यवस्थापन गर्न कुलपतिबाट एक अध्यक्ष, प्राध्यापकमध्येबाट एकजना सदस्य र लोकसेवा आयोगको सदस्यसमेत एकजना रहनेगरी एक स्वतन्त्र त्रिवि सेवा आयोग रहने व्यवस्था छ ।
अध्ययन संस्थान
त्रिविअन्तर्गत पाँचवटा अध्ययन संस्थान रहेका छन्– चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र वनविज्ञान अध्ययन संस्थान । यी संस्थानले विशेषखालका प्राविधिक शिक्षा प्रदान गर्दै देश–विदेशमा समेत उच्च शिक्षाका लागि ख्यातिप्राप्त गरेको छ । प्रत्येक संस्थानमा प्रमुखका रूपमा डीन रहने व्यवस्था छ ।
सङ्काय
त्रिविमातहतमा चारवटा सङ्काय छन्– शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन र कानुन । यी सङ्कायले स्नातकदेखि विद्यावारिधि तहसम्मका सम्बन्धित विषयका पाठ्यक्रम तयार गर्ने, परिमार्जन गर्ने, स्वीकृत गर्ने काम गर्छन् । सङ्कायअन्तर्गत पठनपाठन र अनुसन्धानको स्तर उठाउने काम पनि यिनीहरूले गर्छन् ।
विभाग
त्रिविअन्र्तगत ४० वटा केन्द्रीय विभाग छन् । ती विभागमा विभागीय प्रमुखको नियुक्ति गरिएको हुन्छ । विभागीय प्रमुख आ–आफ्ना विषय समितिका अध्यक्ष पनि हुन्छन् । विद्यापरिषद्को सदस्य भई विभिन्न समन्वयकारी काम गर्नु पनि विभागीय प्रमुखको दायित्व हुन्छ । प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथै पाठ्यसामाग्री र शिक्षण विधिको विकास गराई लागू गराउने दायित्व पनि विभागको हुन्छ ।
आङ्गिक क्याम्पस
त्रिविअन्तर्गत ६२ वटा आङ्गिक क्याम्पस छन् । अध्ययन संस्थानहरूको हकमा डीनको सिफारिसमा र अन्य क्याम्पसको हकमा शिक्षाध्यक्षको सिफारिसमा कार्यकारी परिषद्ले क्याम्पस प्रमुखको नियुक्ति चार वर्षका लागि गर्छ । सन् १९८० अघि त्रिविका आङ्गिक क्याम्पसमात्र उच्च शिक्षा आर्जन गर्ने थलो रहेका थिए ।
सम्बन्धन प्राप्त क्याम्पस
त्रिविले आफ्ना आङ्गिक क्याम्पसबाहेक निजी तथा सामुदायिक स्तरमा पनि क्याम्पसलाई पठनपाठन गर्ने अनुमति दिएको हुन्छ । त्यस्ता अनुमति पाउने शिक्षण संस्थाहरू नै सम्बन्धन प्राप्त क्याम्पस हुन् । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार यस्ता क्याम्पसको सङ्ख्या एक हजार ६० रहेका छन् । सन् १९८० पछाडिमात्र सम्बन्धन प्राप्त क्याम्पसको व्यवस्था भएको पाइन्छ ।
अनुसन्धान केन्द्र
त्रिविअन्तर्गत चार अनुसन्धान केन्द्र छन् । नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र । यी अनुसन्धान केन्द्रहरू त्रिभुवन विश्वविद्यालयका बुद्धि–गुठीका रूपमा रहेका छन् । विभिन्न विषयगत अनुसन्धान, परामर्श सेवा, सम्मेलन गोष्ठी र तालिम आदिका सामग्री, विशिष्ट विद्वान्का लेख, पुस्तक, समीक्षा तथा अन्य सम्बन्धित क्रियाकलापसम्बन्धी कृतिको प्रकाशन गर्ने जस्ता मुख्य काम अनुसन्धान केन्द्रले गर्छन् ।
वर्तमान अवस्था
२०४३ सालभन्दा अघि देशमा एकमात्र विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालय रहेको थियो । तर, आज देशमा ११ वटा विश्वविद्यालय स्थापित छन् । देशमा ११ विश्वविद्यालय भए पनि त्रिविलाई विद्यार्थीको चाप कम हुन सकेको छैन । उच्च शिक्षा हासिल गर्ने देशभरका कुल विद्यार्थीमध्ये झन्डै ८५ प्रतिशतको रोजाइ त्रिवि नै परेको छ । सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार ०७६/०७७ मा चार लाख १५ हजार ७७७ विद्यार्थी त्रिविअन्तर्गतका विभिन्न संस्थान र सङ्कायमा भर्ना भएका थिए । त्रिविअन्तर्गत सात हजारभन्दा बढी प्राज्ञिक तथा शैक्षिक जनशक्ति एवम् आठ हजारभन्दा बढी प्रशासनिक जनशक्ति देखिएको छ ।
त्रिविको भावी रणनीतिबारे व्याख्या गर्दै उपकुलपति बास्कोटा भन्नुहुन्छ, ‘बजारकेन्द्रित वा मागकेन्द्रित शिक्षा प्रणालीलाई स्थापित गर्दै प्राविधिक शिक्षालाई बढावा दिने अब हाम्रो नीति हो । त्यस्तै राष्ट्रनिर्माणलाई चाहिने जनशक्ति (प्राविधिक र प्रशासनिक) उत्पादन गर्नु, राष्ट्रको पहिचान (इतिहास, कला, साहित्य, संस्कृति, भूगोल) समृद्ध तुल्याउन अनुसन्धानमा थप जोड दिनु पनि हाम्रो लक्ष्य हुनेछ ।’
यसका लागि रेक्टरमातहतमा रहेको अनुसन्धान समन्वय तथा विकास परिषद् (रिसर्च कोर्डिनेसन एन्ड डेभलपमेन्ट काउन्सिल) मार्फत चार अनुसन्धान केन्द्र र ४० वटा विभागलाई १५औँ योजनाले प्राथमिकता तोकेको विषयमा अनुसन्धान गर्न १२ करोड रुपियाँ विनियोजन गरिएको छ । त्रिविमा सेमेस्टर प्रणालीको अवलम्बन, विद्यार्थी केन्द्रित शिक्षा प्रणाली, सूचना प्रविधिमैत्री शिक्षा प्रणालीको अभ्यास आदिले विद्यार्थीलाई ज्ञानबाट सीप हासिल गर्ने तहसम्म लगेको अनुभूति हुन्छ । यसकारण त्रिविले नेपालको शिक्षा क्षेत्रमा आफ्नो शिक्षाको विरासतलाई तुलनात्मक रूपमा उचाइमा पु-याउन खोजेको स्पष्ट भन्न सकिन्छ ।
(लेखक त्रिवि ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।)
 
यो पनि हेर्नुहोस्

Related Keywords

Mahakali , Nepal , Mechi , July Shukla , Asianr Center , Council It , Public Service Commission , Tribhuvan University Country , Service Commission , University House It , Institution It , Ghimire Tribhuvan University , Mland University , Nepal India University , Development Council , Tribhuvan University , Public Relations Division , It University , Education Development , Free Tu Service Commission , Council Campus , Or Center Do , Or Center , Asian World School , End Development Council , Development Headquarters , Mother College , Central Department , R Tu University , University As Tribhuvan , University May , Divine Laxmi , Failed Day , Land Prime Minister , Prime Minister , Ministry Secretary , Campus His , Law The , Nepal Education , His Education , மஹாகலி , நேபால் , மெச்சி , சபை அது , பொது சேவை தரகு , சேவை தரகு , நில பல்கலைக்கழகம் , வளர்ச்சி சபை , திரிபுவன் பல்கலைக்கழகம் , பொது உறவுகள் பிரிவு , அது பல்கலைக்கழகம் , கல்வி வளர்ச்சி , வளர்ச்சி தலைமையகம் , மைய துறை , பல்கலைக்கழகம் இருக்கலாம் , தோல்வி நாள் , ப்ரைம் அமைச்சர் , அமைச்சகம் செயலாளர் , சட்டம் தி , நேபால் கல்வி , அவரது கல்வி ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.