शिव महिमा र साउने सोमबार पशुपतिनाथलाई अंशुवर्माको पालादेखि नै राष्ट्रिय देवताको मान्यता प्रदान गरिएको थियो ।
शेयर गर्नुहोस: दीर्घराज प्रसाई आराध्यदेव पशुपतिनाथ नेपाल, भारत तथा विश्वका विभिन्न शिव मन्दिर, महादेवस्थानहरूमा हिन्दु नरनारीबाट भक्तिपूर्वक पूजा–आराधना गरिनुमा साउने सोमबारको ठूलो महिमा छ । संसारका हिन्दुहरू ठूलो उत्साहका साथ पशुपतिनाथ लगायत नेपाल, भारत तथा विश्वमा अवस्थित शिव मन्दिरहरूमा आराधनाको लागि साउनको सोमबार भक्तजनको ठूलो भिड लाग्दछ । पशुपतिनाथ हिन्दुहरूका लागि ठूलो तीर्थस्थल हो । प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ । हिमालयको दक्षिण, गङ्गाको उत्तर, काठमाडौँ उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रको रुपमा लिइन्छ । कैलाश–मानसरोवर, गोसाइँकुण्ड, अमरनाथलाई शिवजीको तपोभूमिका रुपमा विश्वभरका हिन्दु तथा बौद्धमार्गीहरूले मान्दछन् । पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शङ्कर, शम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । महाभारत कालमा युद्धको समाप्तिपछि हिमालयतर्फ जाँदा पाण्डवले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका थिए । लिच्छवि वंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ । नेपालका लिच्छविकालीन तथा शाहवंशीय राजाहरूले पशुपतिनाथप्रति भक्ति गरेर सेवा गरेका प्रसस्त अभिलेखहरू छन् । पशुपतिनाथलाई राष्ट्रिय देवताको मान्यता प्रदान गरिएको राजा अंशुवर्माद्वारा हो । पृथ्वीनारायण शाहले पशुपतिनाथलाई पञ्चामृतले नुहाउन प्रारम्भ गराएका थिए । हिमवतखण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाह तथा उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा एकीकृत गरिएर नेपाल हिन्दु अधिराज्य बनेको हो । यो भूमि हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदी, ताल, धाम, जङ्गल, भूभागले सिञ्चित छ । भारतखण्डमा एकहजार वर्षसम्म मुसलमान र अङ्ग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरू तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति थोपर्ने काम ग-यो । साम्राज्यवादी शक्ति र अन्य कुनै धार्मिक षडयन्त्रबाट नेपाल कहिल्यै बिटुलो नबनेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बराहक्षेत्र, पाथीभरा, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथ धामजस्ता प्रसिद्ध थाम छन् । नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौं तीर्थस्थलहरूको साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ । नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो । नेपालका साथै भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष–कामरुप, आदि पवित्र स्थलहरूमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्य छ । भारतका कतिपय धाम र मंदिरहरूमा नेपालका राजाहरूको विशेषाशिकार रहिआएको छ । विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरू पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीँकै राजोपाध्यायबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । क्रमशः पशुपतिनाथका पूजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीलाई पशुपतिको भण्डारे बनाइयो । पछि प्रताप मल्ल कर्नाटकका राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा दाइजोका रुपमा आएका र पछि तिनै तान्त्रिक भट्टको माग अनुसार भट्टहरू पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूलभट्टसहित दक्षिण भारतका चार जना भट्ट पुजारी र १०६ जना नेवार भण्डारी छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्ट र भण्डारी गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरू भित्र प्रवेश गर्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभागमा फैलिएको छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरू निर्मित छन् । हिन्दु तथा बौद्धमार्गीहरूले पशुपतिनाथका साथै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रुपमा मान्छन् । वाला चतुर्दशी, शिवरात्री, अक्षयतृतीया, एकादशी, तीज, साउनको सोमबारमा भक्तजनको पशपुतिनाथ र संसारका सबै शिव मन्दिरहरूमा भिड लाग्छ । साउनको सोमबार शिवजीको जन्मदिन स्वरुप भक्तिपूर्वक धुमधामका साथ मनाइन्छ । साउने सोमबार अधिकांश महिनामा पाँच पटक पर्दछन् । तर यो २०७५ सालको साउने सोमबार चार दिन मात्र परेको छ । साउनको सोमबारमा बोलबमको नाममा राता र पहेँला वस्श्र लगाएका भक्तजनबाट पवित्र नदीको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरूमा भक्तिपूर्वक चढाइन्छ । निधारमा टीका लगाएका भक्तजनको मेला र भेलाले पशुपतिनाथ, गोसाइँकुण्ड, भक्तपुरको डोलेश्वर, पाटनको कुम्भेश्वर, धरानको पिण्डेश्वर सिँगारिएको हुन्छ । समय–समयमा राजनीतिक परिवर्तन हुँदैआए तापनि हाम्रा धाम र मन्दिरहरूको परम्परागत मान्यता र पहिचान बचाउने कार्य हुँदैआएको छ । हिन्दुहरूको नेपाल, क्रिस्चियन र यहुदीहरूको जेरुसेलम, मुसलमानहरूको मक्कामदिना पवित्र स्थलहरू मानिन्छन् । क्रिस्चियनहरूको क्रस र चर्च, यहुदीको षड्कोण, मुसलमानको नमाज तथा मस्जिद् र हामी हिन्दु र बौद्धको पशुपतिनाथ र स्वयम्भूनाथ त्यतिकै पूजनीय छन् । हिमवत्खण्ड नेपालमा एकपटक विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरेका थिए । लिच्छवि वंशका अन्तिम राजा जयर्जुनदेव कमजोर राजा भएकाले त्यही मौका छोपेर मुस्लिम आक्रमणले सारा हिन्दु तथा बौद्धहरूमा कोलाहल मच्चियो । त्यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे । तीस हजार चार सय मुसलमान फौज मारिए र छ सय जति ज्यान बँचाएर भागेको कुरा भक्तपुर तजेजु स्तम्भको शिलालेखमा उल्लेख छ । त्यसपछि जयस्थिति मल्ल काठमाडौँ उपत्यकाको राजसिंहासनमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्वार तथा पुनरुत्थान गरी बाग्मतीपारि राम मन्दिरको निर्माण गरेका र नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धलाई मात्र प्रवेश र अरुको लागि प्रवेश निषेध गर्ने नियम चलाएकाले अहिलेसम्म त्यही परम्परा चल्दै आएको छ । संविधानहरू समयानुकूल परिवर्तन भइरहन्छन् तर परम्परागत रुपमा स्थापित मान्यताहरू संविधानभन्दा माथि हुने भएकाले परम्पराको रुपमा त्यसको समर्थन भइआएको छ । यस्तो परम्परा अन्य धर्ममा पनि प्रसस्त प्रचलित छन् । विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपतिको अभिलेखमा उल्लेख गरेका थिए– ‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परमपशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।’ राजाहरूमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरूमा पाइन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा वसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुई पाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।’ यसैगरी शाहवंशीय राजामा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मङ्सिरमा राजा गीर्वाणयुद्ध विक्रम शाहबाट पुजारीको अलग–अलग खान्की तोकिदिएका थिए । शाहवंशीय राजा लगायत राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविकबमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा संबन्धी अनेकौं लालमोहोरहरू लागु हुँदै आएका छन् । कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरूको पवित्र तीर्थस्थल हो । मानव कल्याणको लागि महादेवले हलाहल विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जलधारा निकाली कुण्ड बनाई त्यही कुण्डमा शयन भएकाले गोसाइँकुण्डको पनि ठूलो महीमा छ । अठार पुराण सबैमा शिवको महीमा छ भने शिव पुराण शिवजीको वयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिहरूले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ । नेपालका राजाहरू आफ्नो संदेश र भाषणको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्ने उद्गार गर्छन् । पशुपतिनाथ लगायत नेपाल र भारतका शिव