भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काउनुभएको हो ।
अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ । बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ । यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ ।